अवको तीन महिनामा सर्वसाधारणले राहत पाएको महशूस गर्ने छन्-डा. वीपी दास उपकुलपति वीपी कोइराला स्वस्थ विज्ञान प्रतिष्ठान
प्राध्यापक डा. बलभद्रप्रसाद दास वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नया उपकुलपतिको रुपमा नियुक्त भएका छन् । २०१६ पुस ७ गते धरमपुर–६ सप्तरीमा जन्मेर गाउकै स्थानीय सरकारी स्कूलबाट अध्ययन सुरु गरेका डा. दास दक्षिण एसियाकै नमूना चिकित्सा विज्ञान अध्ययन, अनुसन्धान र उपचार सेवा दिने मानिएको प्रतिष्ठानको उपकुलपति बन्न सफल भएका छन् ।
महेन्द्र मोरङ विराटनगरबाट आइएस्सी, नालन्दा मेडिकल कलेज पटना भारतबाट एमबीबीएस र अल इण्डिया मेडिकल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज (एम्स) नयाँ दिल्लीबाट एमडी र सोही इन्स्टिच्यूटबाट सन १९९६ मा क्लिनिकल फर्माकोलोजी विषयमा विद्यावारिधी गरेका डा. दास वीपी प्रतिष्ठान स्थापनाकालमा हाउस अफिसरबाट जागिर सुरु गरेका हुन् । प्रस्तुत छ, उपकुलपति डा. दाससंग सन्तोष काफ्लेले गरेको कुराकानीको छोटो अंशः
प्रतिष्ठानमा हाउस अफिसरबाट जागिर यात्रा सुरु गर्नु भयो अहिले सोही प्रतिष्ठान उपकुलपति हुनु भाकोमा कस्तो लागि रहेको छ ?
यत्रो ठूलो प्रतिष्ठानको उपकुलपति बन्न पाइएकोमा खुशी नै लागेको छ । मेरो योग्यता, क्षमता र दक्षताको मूल्याङ्कन भएको मैले महसुस गरेको छु । अर्को कुरा, म यो प्रतिष्ठानमा एउटा सामान्य हाउस अफिसरको पदबाट बढुवा हुदै डेपुटी हस्पिटल डाइरेक्टर र यस अघि अस्पताल निर्देशकको भूमिका पनि खेली सकेको छु ।
प्रतिष्ठानमा यसअघि प्रतिष्ठान बाहिरका चिकित्सकहरुमात्र उपकुलपति भएर आउनेले त्यति काम गरेनन् भन्ने गुनासो थियो, ती गुनासोलाई कम गर्न भित्रकै मानिस उपकुलपति बनेपछि केही नया योजना पनि बनाउनु भएको होला नी ?
पहिले पनि प्रतिष्ठानकै मानिसहरु उपकुलपति भएका थिए । म पहिलो होइन । डा. मदन उपाध्याय, डा. शेखर कोइराला प्रतिष्ठान भित्रकै थिए । उहांहरुले यो प्रतिष्ठानलाई उच्च स्तरमा पु¥याए । डा. शेखर पछि आउनु भएका डा. लोकविक्रम थापा र डा पूर्णचन्द्र कर्माचार्य जीलाई भने प्रतिष्ठानको बारेमा बुझ्न केही समयमा लागेको थियो । उहाँहरुले पनि भ्याएसम्म गर्नु भयो । यद्यपी, म उपकुलपति भएर आउँदा प्रतिष्ठानलाई अगाडि बढाउन धेरै सहज हुने छ भन्ने मलाई लागेको छ । किनकी मलाई यो प्रतिष्ठानको सबैकुरा थाहा छ ।
त्यसो भए अव कसरी काम गर्ने योजना बनाउनु भएको छ त ?
मलाई प्रतिष्ठान भित्रको समस्या, काम कारवाही, आवश्यकता र समाधानका उपायबारे धेरै जानकारी भएकाले प्रतिष्ठानको उन्नतिकोलागि सवैसंग मिलेर डटेर काम गर्ने योजना बनाएको छु । मलाई प्रतिष्ठान भित्रका चिकित्सक साथीहरु, कर्मचारी साथीहरु, विद्यार्थी, धरानवासी र सरकारले पनि सहयोग गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।
पर्याप्त बजेट नभएकोले प्रतिष्ठान संचालनमा समस्या आएको गुनासो तपाई आफैले पनि पहिले भन्दै आउनु भएको थियो, त्यस्तो अवस्थामा कसरी सहजरुपमा संचालन गर्नुहुन्छ त ?
साच्चै भन्ने हो भने प्रतिष्ठान अझैपनि राज्यले पालन पोषण गर्ने अवस्थामा छ । प्रतिष्ठानलाई समान्यरुपमा संचालन गर्न बार्षिक रुपमा करिव ९७ करोड रुपैया आवश्यक पर्छ । ६० करोड रुपैया त चिकित्सक र कर्मचारीलाई तलव भत्ता सुविधामै खर्च हुने गरेको छ । प्रतिष्ठान आफैले गत बर्ष चानचुन ७० करोड रुपैया आम्दानी गरेको थियो ।
त्यसमा सुरक्षा गार्डलाई डेढकरोड, विद्युतमा करिव ५ करोड, सरसफाइमा १ करोड खर्च सोझै हुने गरेको छ । मेडिकल किट्स, उपकरण, मर्मत सम्भार, भइपरी आउने खर्च खोइ त ? यो प्रतिष्ठान कसरी चलिरहेको छ भनेर सवैलाई चिन्ता जाग्नु पनि पर्छ । हामीले प्रतिष्ठानको अपुग बजेट पुरा गर्न सरकारले दिनु पर्छ भनेर २७ करोड माग गर्दा ३ करोड मात्र दिए पछि कसरी हुन्छ त ? सरकारले अपुग बजेट दिनै पर्छ । प्रतिष्ठान सवैको हो । मुलुकै प्रतिष्ठा भएकाले राज्यले पनि लगानी गर्नु पर्छ तव गुणस्तरीय उपचार सेवा सवैले पाउन सक्छन् ।
प्रतिष्ठान संचालन गर्न आर्थिक अभाव पनि छ भन्नु हुन्छ, यहा भित्र कार्यरत चिकित्सकहरु तलव भत्ता सुविधा कम भयो पनि भन्दै छन् नी ?
पैसामुखी मान्छेलाई यो प्रतिष्ठानमा बसेर काम गर्न गाह्रो छ । यहाँ चाहेर पनि चिकित्सकले धेरै पैसा कमाउन सक्दैन । प्रतिष्ठानमा धेरै पैसा कमाउछु भन्ने सोचेर आउनु भन्दा यहां भित्र बसेर प्रतिष्ठा कमाउछु भनेर मात्र आउनु पर्छ ।
अरु तिरका चिकित्सकले बाहिर प्राक्टिस गर्न पाउदा पैसा कमाएका छन् तर प्रतिष्ठानकाले बाहिर प्राक्टिस गर्न नपाएको गुनासो छ नि ?
प्रतिष्ठानको विधान र नियमावलीले दिएको अधिकार अनुसार अन्य मेडिकल कलेजका चिकित्सक जस्तै बाहिर प्राक्टिस गर्न पाउदैनन् । तर सांझ पाच बजेपछि पेइङ सुविधा दिएको छ । यहाँ भित्र आफ्नो योग्यता, क्षमता र दक्षता हुनेले प्रतिष्ठानको ल्याव, उपकरण प्रयोग गरेर पेइङबाट कमाउन दिएको छ । पेइङ भनेको तिर्न सक्ने सम्पन्न विरामीका लागि हो । अरु तिरको चिकित्सकले पनि कति कमाइरहेका छन्, त्योपनि उहांहरुले बुझ्नु प¥यो । चिकित्सकहरुलाई प्रतिष्ठानले बस्ने क्वाटर, थप भत्ता दिएको छ । मैले अघि पनि भनेको छु, सेवामुखी भएमा प्रतिष्ठान भित्र नै बसेर सन्तोष मान्न सकिन्छ ।
तपाईको विचारले त प्रतिष्ठान भित्रका योग्य र दक्ष चिकित्सक पलायन हुनबाट नरोकिने रहे छ नी ?
कुरा त्यसो होइन, चिकित्सक आउने र जाने प्रतिष्ठानमा मात्र होइन दिल्लीको एम्समा पनि हुन्छ । यहांमात्र बसेर काम गर्न नसक्नेले अन्यत्र पनि काम गर्न सक्नु हुन्छ । जहा बसेपनि सेवाको भावले काम गरे हुन्छ ।
प्रतिष्ठानमा उपचार प्रक्रियामा ढिला सुस्ती भइरहेको हुन्छ ।विरामीको चापको कारण त्यस्तो भएको हो । तर लेखेर राख्नोस्, अवको तीन महिनामा सर्वसाधारणले राहत पाएको महसुस गर्ने छन् । रिपोर्ट तत्कालै दिने व्यबस्था गर्ने छु । उपचार सेवा चुस्त दुरुस्त दिने व्यबस्था गर्ने छु । केही न केही फरक पाउने छन् सर्वसाधारणले । प्रतिष्ठानमा नया किट, नया उपकरण जडान हुदैछन् ।
प्रतिष्ठानलाई थप प्रतिष्ठीत बनाउन नया योजना के छ ?
प्रतिष्ठानमा थप ५ सय शैयाको आवश्यकता रहेको छ । सोही अनुसार जनशक्ति र उपकरणपनि चाहिएको छ । यसका लागि उपकुलपति नियुक्ती भए लगतै मैले ठोसरुपमा कदम चालिसकेको छु । भारत सरकारसंग सहयोगको लागि पत्राचार गरिरहेको छु । अनि, प्रतिष्ठानमा आधारभूत पूर्वाधार तयार भएका छन् , अव सुपर स्पेशियालिटि सेवाको तयारीमा पनि लागेको छु । प्रतिष्ठान भित्र न्यूरोलोजी, न्यूरोसर्जरी, कार्डियोलोजी एण्ड कार्डियोथोरासिक सर्जरी, युरोलोजी, नेफ्रोलोजी, पल्मोनोलोजी, पेडियाट्रिक, मेटर्नल एण्ड चाइल्ड सेन्टर, ट्रमा सेन्टर जस्ता स्पेशियालिटि सेवा दिन प्रतिष्ठानमा पुर्वाधार छन् । त्यसैलाई अगाडि बढाउने छु ।









