आत्मनिर्णय र स्वात्तताका लागि सम्मेलन धरानमा
धरान /आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्याससम्बन्धी अन्तराष्ट्रिय सम्मेलन यही माघ ५, ६ र ७ गते धरानमा हुने भएको छ ।
अन्तराष्ट्रिय सम्मेलन आयोजक समितिले सोमबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सम्मेलनमा विज्ञहरु मात्रै स्वदेश र विदेशका गरेर ७० जना भन्दाबढी सहभागि हुने छ । कार्यक्रममा आदिवासी जनजातिहरुका तर्फबाट ४० वटा कार्यपत्र प्रस्तुत गरिनुका साथै ३२ वटा अवधारणापत्र विज्ञहरुले पेश गर्ने छन् । समितिका अनुसार अन्तर्राष्ट्रिय मुलुकका आदिवासी सङ्गठनका प्रतिनिधिहरू, अभियन्ताहरू, विशेषज्ञहरू यस सम्मेलनमा भाग लिनेछन् । जसअनुसार भारत, स्वीजरलैण्ड, ल्याटिन अमेरिका र दक्षिणएसियायी राष्ट्रका विज्ञहरु आउदैछन् । त्यसैगरी नेपालका आदिवासी जनजातिका जातिय संस्थाका प्रतिनिधिहरु, पहिचानका लागि लडिरहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, राजनीतिक पार्टी सम्बद्ध आदिवासी जनजाति भातृ सङ्गठनहरूका प्रतिनिधिहरू, अभियन्ताहरू, आदिवासी जनजातिका परम्परागत संस्थाका प्रतिनिधिहरू, आदिवासी जनजाति बुद्धिजीविहरू, विज्ञहरु र आदिवासी जनजाति धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिहरू सहभागि हुनुका साथै आदिवासी जनजाति सभासद् सभा ‘ककस’ बाट समेत सम्मेलनमा भाग लिनेछन् ।
समितिका उपसंयोजक उत्तमसिं थाङदेनका अनुसार तीन दिनसम्म चल्ने यस सम्मेलनमा पहिलो दिन आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासन, अग्रिम सुसूचित स्वतन्त्र मञ्जूरी आदिको अभ्यासबारे विचार तथा विभिन्न मोडेलहरूमा छलफल हुने छ । दोस्रो दिन आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासन र अग्रिम सुसूचित स्वतन्त्र मञ्जुरीलाई अभ्यास गर्ने रणनीति, नेपाली आदिवासी जनजाति आन्दोलनको मार्गचित्र तयार गर्ने र सम्मेलनको घोषणापत्र तयार गरिने छ । सम्मेलनको अन्तिम दिन अर्थात् तेस्रो दिन आदिवासी जनजातिहरूको झाँकीसहित जनप्रदर्शन र घोषणसभा हुनेछ ।
सम्मेलनले आत्मनिर्णयको अधिकार, स्वायत्तता, स्वशासनलाई अभ्यास गर्न नेपाली आदिवासीको बुझाइमा एकरुपता कायम गराउनुका साथै नयाँ बन्ने संविधानमा आदिवासी तथा जनजातिहरूको आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनलाई लिपिबद्ध गर्न संविधानसभा, राजनीतिक दलहरूलाई दबाव पुग्ने विश्वास लिईएको छ । त्यसैगरी सम्मेलनबाट आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनको अभ्यासका लागि रणनीति तथा मार्गचित्र समेत तयार हुनेछ ।
सप्तकोशी पूर्व प्रस्तावित लिम्बूवानका ६६ वटा आदिवासी जनजातिहरुको सहभागितामा आयोजना गर्न लागिएको यस कार्यक्रमको व्यवस्थापनमा ३० लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकहरुको अनुमान छ । स्थानीय संयोजक किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष दुर्गामाया लिम्बूका अनुसार स्वदेश र विदेशका गरेर ५ सयबढी प्रतिनिधिहरु कार्यक्रममा सहभागि हुने छन् । समितिका अनुसार धरानमा आयोजना हुन लागि रहेको सम्मेलन नेपालमै पहिलो भएको र यसैप्रकारको सम्मेलन स्थानीय आदिवासी जनजातिहरुको आयोजनामा नेपालको अन्यक्षेत्रमा समेत हुनेछ ।- महेश श्रेष्ठ









