इ देरूनीखपू बाल पुरस्कार नौजनालाई प्रदान
काठमाडौं, २०६८ साल, पुस २९ गते
वरिष्ठ साहित्यकार पं.श्यामदास वैष्णवले आज एक समारोहमाझ आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६८ सालको ‘नइ देरूनीखपू पुरस्कार’ प्रदान गर्नुभयो । सो पुरस्कार पाउने साहित्यतर्फ सुशान्तमानसिंह मास्के, चित्रकलातर्फ छेतेन डोका शेर्पा, गायनतर्फ सरगम वस्नेत, नृत्यतर्फ यज्जु श्रेष्ठ, खेलकुदतर्फ संसारविक्रम थापा र विज्ञानतर्फ तालाङ्क बराल हुनुहुन्छ । यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।
यसैगरी नइ देरूनीखपू कोपिला पुरस्कार गायनमा कुनाल श्रेष्ठ मलेकु र नृत्यमा उर्मिला गुरूङलाई प्रदान गरिएको छ । यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् । पाँच हजार रूपियाँ राशिको नइ देरूनीखपू चिचिला पुरस्कार उत्प्रेम जोजिजुलाई प्रदान गरिएको छ । साडे दुई वर्षका जोजिजुलाई सङ्गीततर्फ यो पुरस्कार प्रदान गरिएको हो ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सञ्चालित सो समारोहमा पुरस्कार संस्थापक तथा दाताका तर्फबाट टोरुप प्रसाई र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि बोल्नु भएको थियो । नइ प्रकाशनका संरक्षक भागीरथा प्रसाई र पुरस्कार संस्थापक तथा दाता खनूप्रुदे रामबाबु प्रसाई अस्वस्थ्य हुनुभएका कारण सधैंका वर्षहरू झैं यस वर्ष प्रतिभाहरूले समारोहमा आआफ्ना कौसल प्रदर्शन गरेनन् ।
एक करोड पन्ध्र लाख रुपियाँ बैंकको अक्षयकोषमा राखि नइ प्रकाशनले त्यसको व्याजबाट हरेक वर्ष देशदेशान्तरका प्रतिभालाई दस लाख पचास हजार रुपियाँ नगद सहित पच्चीसवटा पुरस्कार प्रदान गर्दै आएको छ ।
नइ प्रकाशनलाई समाजसेवी तथा राजनीतिज्ञ खनूप्रुदे ‘रामबाबू’ले छयानब्बे लाख रुपियाँ र पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले सात लाख रुपियाँ प्रदान गरिसक्नु भएको छ ।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन









