Art
फागुनमा तेश्रो मिस पूर्वाञ्चल प्रतियोगिता हुने
देबेन्द्र कार्की
धरान, ८ पुस
युवतीहरुको सौन्दृय कला प्रस्फुटन गराउने उद्देश्यले पूर्वाञ्चलका युवतीहरुलाई प्रशिक्षण गराई आयोजना गरिने सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१२’ आगामी फागुन २० गते धरानमा ककहुने भएको छ । पूर्वाञ्चलभरीका विभिन्न जिल्लाहरु लगायत पूर्वाञ्चलको प्रतिनिधित्व गर्ने नेपाली युवतीहरुले भाग लिन पाउने यस प्रतियोगिताको अडिसन आगामी माघ २२ देखि २५ गतेसम्ममा इटहरी, विराटनगर, बिर्तामोड र धरानमा आयोजना गरिने प्रतियोगिताका संयोजक शौरव श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिताको आयोजना बुढासुब्बा ट्रेनिङ सेन्टरले गर्ने भएको छ ।
प्रतियोगितालाई भव्य बनाउन यस पटक काठमाडौंमा समेत अडिसन गर्ने योजना रहेको बुडासुब्वा ट्रेनिङ सेन्टरका अध्यक्ष वीरेन्द्र लिम्बूले बताए ।
प्रतियोगितामा बढीमा २० जना युवतीहरुलाई कम्तिमा ५ फिट ४ इञ्च उचाई, १८ देखि २६ वर्ष उमेरको र प्लस २ वा सो सरह उत्तिर्ण गरेका युवतीहरुलाई उनीहरुको व्यक्तित्व र योग्यताको आधारमा छनौट गरिने र त्यसपछि १५ दिने कोरियोग्राफर प्रियारानी लामाद्वारा फाइनल इभेन्टको लागि प्रशिक्षण दिइनेछ आयोजकले जनाएको छ ।
मिस पूर्वाञ्चल २०१२ मा प्रशिक्षार्थी युवतीहरुको परफरमेन्स, व्यक्तित्व र भोटिङको आधारमा मिस पूर्वाञ्चल २०१२ को टाइटल विजेतसँगै फस्ट रनर अप, सेकेण्ड रनर अप र मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस वेष्ट वाक, मिस वेष्ट पर्सनालिटी, मिस वेष्ट व्युटिसियन, मिस वेष्ट व्युटिफुल कम्लेक्सन र मिस म्यूअर्स च्वाइस, मिस वेष्ट वक, मिस फोटोजेनिक, मिस वेष्ट हेयर, मिस वेष्ट स्माइल लगायतको १० वटा टाइटल एवार्ड समेत वितरण गरिनेछ । विजयी प्रतियोगीहरुलाई आकर्षक पुरस्कारसँगै कलेजमा छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । मिस पूर्वाञ्चल विजेताले यस पटक नगद एक लाख प्राप्त गर्ने संयोजक श्रेष्ठले बताए । हाल प्रतियोगिता सम्पन्न गर्न प्रायोजकको खोजी भई रहेको छ ।
त्यस्तै प्रशिक्षार्थी युवतीहरुलाई ट्राफिक सचेतना, रक्तदान, सरसफाई, म्याराथुन लगायत अन्य विभिन्न सामाजिक कार्यहरुमा समेत सहभागी गराइने क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताए । कार्यक्रमको इभेन्टलाई गत वर्षभन्दा आकर्षक बनाइने र त्यसको लागि अहिलेदेखि नै तयारी भइरहेको रिमालले बताए ।
यो वर्ष आगामी वैशाखमा मिस नेपाल २०१२ आयोजना हुने मिस पूर्वाञ्चलको उपाधी विजेतलाई प्रतिष्पर्धी गराइने भएकोले पनि यो वर्ष चाँडै नै मिस पूर्वाञ्चलको आयोजना गरिन लागेको हो । सन् २००२ मा पहिलोपल्ट उत्तम क्रिसमनको आयोजनामा मिस पूर्वाञ्चल आयोजना भएको थियो । त्यसपछि एकैचोटि सन् २०१० बाट हरेक वर्ष बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजनामा मिस पूर्वाञ्चल आयोजना भइरहेको छ । मिस नेपालमा मिस पूर्वाञ्चल २०१० बाट प्रियारानी लामा र २०११ बाट प्रतिभा श्रेष्ठले मिस नेपालमा प्रतिष्पर्धा गरेर क्रमशः व्यूटिफुल कम्पलेक्सन र व्यूटीफुल स्माइलको टाइटल जितेका छन् । मिस पूर्वाञ्चल २०१२ बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थामा हुन लागेको श्रेष्ठले बताए ।
फारम भर्नका लागि www.alopalo.com, www.nagariknews.com, www.netnasha.com अथवा फेसबुकको misspurwanchal पेजबाट डाउनलोड गरेर भर्न सकिने बताइएको छ । विभिन्न क्षेत्रका विज्ञहरुद्वारा समेत व्यक्तित्व विकास, सौन्दर्य, फेसन, इतिहास, पर्यटन लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइनेछ ।









