हङकङमा धरान एक परिचय बृत्तचित्र प्रदर्शनी
अप्रेल १० तारिख दिन धरानबाट हङकङ आई विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु हसिला देखिन्थे । उनीहरुको मुहारमा धरानप्रतिको सद्भाव र माया प्रष्ट झल्कन्थियो ।
यसको प्रमुख कारण थियो, धरान चौकीबारी समाजले निर्माण गरेको धरान र त्यस आसपासका सम्पूर्ण विषयवस्तुलाई समेटेर तयार पारेको बृत्तचित्र धरान एक परिचयको प्रदर्शनी ।
शिक्षा, स्वास्थ्य, विकास, धार्मिक, साहित्य तथा साँस्कृति विषयलाई एकै ठाउँमा राखेर निर्माण गरिएको बृत्तचित्र धरान एक परिचयको प्रथम प्रदर्शनी याउ मा तेइ कम्युनिटी सेण्टरमा बेलुकी एक विशेष समारोह बीच भएको थियो ।
लगभग २ घंटा ३० मिनेट समयावधिको त्यस बृत्तचित्रमा एैतिहासिक, पौराणिक विषयवस्तुहरु पनि प्रसस्तै समेटिएको थियो । बृत्तचित्र हेरी सकेपछि धरान हङकङ मञ्चका उपाध्यक्ष मधुकुमार राईले यसो भने “बृत्तचित्रले धरानलाई विविध कोणबाट प्रष्ट पारेको छ । म यो बृत्तचित्र हेरेर भावुक बनेको छु । धरानमा अरु धेरै कुराहरु गर्न बाँकी रहेछ । हामी यसकलागि पहल गर्ने छौं ।” अर्का दर्शक डिल्ली एभेङले चाँहि यसो भने “धरानको विगत र वर्तमान हेर्न पाइयो भविष्यमा हुनसक्ने विषयवस्तु उठान गरेको भए अझ राम्रो हुने थियो ।”
नेपाल भ्रमण वर्ष २०११ लाई सहयोग गर्न नेपालको सरकार र स्थानीय सरकारलाई नै सहयोग पुग्ने बृत्तचित्र धरानवासीहरुले व्यक्तिगत पहलमा निर्माण गरेका हुन् । विशेषगरी विभिन्न मुलुकहरुमा रहेका नेपालीहरु तथा विदेशीहरु माझ पु¥याउने उद्देश्य सहित निर्माण भएको बृत्तचित्र नेपाल तथा अन्य मुलुकहरुमा समेत प्रदर्शनी गरिने यस बृत्तचित्र निर्माण गर्ने धरान चौकीबारी समाजले जानकारी गराएको छ ।
बृत्तचित्रको प्रथम प्रदर्शनी गर्न अघि एक छोटो औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । समाजका अध्यक्ष रोहित सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान हङकङ मञ्चका उपाध्यक्ष मधुकुमार राई प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा समुपस्थिति रहेका थिए ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहिरुको उपस्थिति रहेको कार्यक्रममा धरान एक परिचय बृत्तचित्रको डीभीडी कपी प्रमुख अतिथि मधुकुमार राई, समाजका अध्यक्ष रोहित सुनुवार र बृत्तचित्र निर्माण नियन्त्रक जित राईले एकसाथ सार्वजानिक गरेका थिए ।
बृत्तचित्रलाई विभिन्न समयमा छायंकन गरिएको जानकारी गराइएको थियो । बृत्तचित्रको अन्तिम चरणको सम्पादन तथा मिक्सिङ कार्य बृत्तचित्र निर्माणमा लामो अनुभव संगालेका श्यामसुन्दर थापाले गरेका थिए ।
एभरेष्ट साप्तहिक, आलोपालो डटकम र मूलबाटो डटकमले मिडीया पार्टर्सको भूमिका निर्वाह गरेका थिए ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








