हङकङका नेपाली ः नेपालीहरूको संघर्ष, सफलता र पहिचानको दस्तावेज
लामो समयदेखि हङकङेली नेपालीका बारे कलम चलाउँदै आएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले बनाएको ‘हङकङका नेपाली’ वृत्तचित्र ३ र ६ नोबेम्बरमा हङकङका जोर्डन र युनलङमा प्रदर्शन भएको छ । श्रेष्ठले तीन वर्षअघिको एकमहिने हङकङ बसाइमा देखेभोगेको हङकङेली नेपाली समाजलाई जीवन्त पस्केका छन् । प्रवासको संघर्ष र सफलताभित्रै मातृभूमिप्रति देखाइएको मायालाई पनि वृत्तचित्रले उजागर गरेको छ ।
आइतबार युनलङ टाउन हलको प्रदर्शनीका प्रमुख अतिथि हङकङस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत किरण शाक्यले हङकङका नेपालीको नेपालप्रतिको माया, संघर्ष र सफलताका कथा वृत्तचित्रमा समेटिनु महत्वपूर्ण काम भएको बताए । उनले भने “आज वृत्तचित्रका रूपमा सार्वजनिक भएको वृत्तचित्रले हङकङका नेपालीले नयाँ इतिहास बनाएको छ । यसले हङकङ बाहिर रहेका नेपालीलाई यहाँको नेपाली जीवन बुझ्न सजिलो भएको छ ।” प्रदर्शनीको आयोजक संस्था नेपाल पत्रकार संघ हङकङका अध्यक्ष तथा वृत्तचित्र प्रस्तुत गर्ने एभरेस्ट मिडियाका सञ्चालक किसन राईले नेपालबाट हङकङ घुम्न आएका पत्रकारको एकमहिने यात्रालाई समेटेको भए पनि डकुमेन्ट्री हङकङमै बसोबास गर्ने र अन्यत्र रहने सबैका लागि जानकारीमूलक रहेको बताए ।
धेरै दर्शकले सीमित अवधिको ‘टाइम लाइन’ मा केन्द्रित रहेकाले वृत्तचित्रमा हङकङका सबै संघसंस्था र व्यक्तिहरू नसमेटिएको भए पनि यसले हङकङमा रहेका समग्र नेपालीको आवाज र नेपाली पहिचानलाई उजागार गरेको प्रतिक्रिया दिए । टिके प्राथमिक स्कुल, युनलङकी शिक्षिका पूर्णकला गुरुङले आफू वर्षौदेखि हङकङमै रहेर पनि यहाँका नेपालीको काम र गतिविधिबारे बेखबर रहे पनि वृत्तचित्रमा सबै देख्न पाएकोमा खुसी व्यक्त गरिन् । एक्युट कन्सल्टेन्सीका कन्सल्टेन्ट दासुराम पराजुलीले छोटो अवधिमा हङकङका नेपालीको विविध क्षेत्रका संघर्ष र नेपालप्रतिको मोहलाई एकै ठाउँ समेटिनु डकुमेन्ट्रीको सबल पक्ष रहेको बताए । वृत्तचित्रभित्रका एक महत्वपूर्ण पात्रसमेत रहेका सङ्गीतसर्जक दिनेश सुब्बाले केही ब्याकग्राउन्ड सङ्गीत र ध्वनि संयोजनमा केही कमजोरी देखिए पनि समग्र हङकङका नेपालीको आरोह–अवरोह समेटिएकाले पत्रकार श्रेष्ठले ‘हङकङका नेपाली’ बनाएर एउटा कोसेढुङ्गा स्थापित गरिसकेको बताए ।
यसमा समेटिएका सामान्य कामदारदेखि व्यापार व्यवसायीका रूपमा बेग्लै पहिचान बनाएका नेपालीहरूको समेत लोभलाग्दो कथा संघर्षरत जोकोहीका लागि प्रेरणादायी बन्न सक्छ । सात समुद्रपारिको यो वैभवशाली सहरमा नेपालका विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, रहनसहन, भेषभूषा र गीतसंगीत जीवन्त देखिन्छन् ।
निर्देशक डम्बरकृष्ण श्रेष्ठले भने हङकङका नेपालीको नेपालप्रतिको मोह, भाषा, संस्कृति र मौलिक पहिचानप्रतिको लगाव, १२ घण्टे काम र संघर्षपछिको सफलता, कला, साहित्य, शिक्षा, खेलकुद क्षेत्रको विविधतालाई केन्द्रविन्दु बनाएर बनाएको डकुमेन्ट्रीलाई यहाँका केही संस्था, व्यक्ति तथा समूहले जातीय, क्षेत्रीय र व्यक्तिकेन्द्रित सोचले हेरेकोमा दुःख व्यक्त गरे ।
‘हङकङका नेपाली’ प्रदर्शन हुने प्रचार सुरु भएदेखि नै प्रदर्शनी रोक्ने हिसाबले हङकङ नेपाली महासंघ, महावाणिज्य दूतावासदेखि स्थानीय जातीय, क्षेत्रीय संघसंस्था र तिनका नेतादेखि व्यक्ति व्यक्तिसम्म वृत्तचित्रका बारेमा भ्रम छर्ने समूह सक्रिय रहेको पाइएको छ । २००८ को डिसेम्बर र जनवरी २००९ अन्तिमसम्मको आप्mनो यात्राको सेरोफेरोमा केन्द्रित ‘ट्राभल लग’ शैलीको वृत्तचित्रविरुद्ध विभिन्न जातीय, क्षेत्रीय र संघसंस्था केन्द्रित भ्रम छर्दै एउटा समूह युनलङ र जोर्डनका पसल पसलसम्म पुगेको पाइएको थियो ।
त्यसैले पनि निर्देशक श्रेष्ठले आप्mनो वृत्तत्रचित्रलाई जातीय, क्षेत्रीय र व्यक्तिगत स्वार्थ केन्द्रित आँखाले नहेरी नेपाली नजरबाट हेरिदिन अनुरोध गरेका थिए । आफुले एउटै फ्रेममा समग्र हङकङेली नेपालीलाई देखाउने आँखीभ्mयालका रूपमा बनाएको डकुमेन्ट्रीलाई हेर्न दर्शकबाट पाएको प्रतिक्रियाबाट भने उनी हौसिएका छन् । हङकङपछि यो फिल्म हङकङेलीहरूका परिवार र आफन्तहरू रहेको नेपालको धरान र पोखरामा प्रदर्शन गरिने भएको छ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








