Diet & Fitness
जान्नै पर्ने कुरा - पोषणको जानकारी
- धिराज गुरूङ
स्वस्थ भोजनको लागि पोषणको जानकारी (nutritional information) हुन एकदम आवश्यक पर्दछ। यो जानकारीबाट हामीले -
- विभिन्न खानेकुरा मध्ये कुनमा कति, धेरै-थोरै पोषण हुन्छ भनेर अरु खानेकुराको पोषणसँग दाँज्न सक्छौँ।
- खानेकुरामा कुन पोषण कति छ भनेर बुझ्न साथै त्यही अनुसार आफ्नो खानामा पोषणको अनुमान लगाउन पनि सक्छौँ।
- त्यसैगरी व्यक्तिगत रुपमा कति पोषणको आवश्यकता छ, त्यो पनि पूरा गर्न सहयोग हुन्छ।
पोषणको जानकारी अधिकांश प्याकेटमा नत्र बट्टा वा बोतलमा हुने खानेकुरामा कुन पोषण कति मात्रामा छ भनी छापिएको हुन्छ। जानकारी पोषण सूचना (Nutritional Information), पोषण तथ्य (Nutritional Facts) अथवा पोषण लेबल (Nutritional Label) जस्ता शीर्षकमा एउटा सानो सूची मा टाँसिएको हुन्छ।
पोषणको जानकारी कसरी बुझ्ने त?
- पोषणको मात्रा per 100 g/mL (प्रति १०० ग्राम / मिलिलिटर), per serving or per package भनी लेखिएको हुन्छ। प्रति १०० ग्राम / १०० मिलिलिटरमा कति पोषण हुन्छ भन्ने यसले संकेत गराँउछ। Per 100 g ठोस आहार (solid food) को लागि हो भने per 100 mL, तरल (liquid food) को लागि हो।
- पोषणको जानकारी सूचीमा उर्जा (energy) साथै प्रोटिन (protein), चिल्लो (fats), कार्बोहाइड्रेट (carbohydrates), चिनी (sugar) र सोडियम (sodium) को मात्रा लेखिएको हुन्छ।
१. उर्जा (Energy) – सर्वप्रथम उर्जाको कति मात्रा छ त्यो पढ्नुहोस्। यो खाना खाएमा शरीरले कति उर्जा पाउँछ त भन्ने यसको मात्राले जनाँउछ। धेरै उर्जाले मोटाउन र मोटोपनमा सघाँउछ। मोटोपन मुटुको रोग, मधुमेह (diabetes), जस्ता रोगहरुको जड पनि हो। कति उर्जा छ भनी किलो-क्यालोरी (kCal) वा जुल्स् (kJ) नत्र दुवैमा व्यक्त गरिएको हुन्छ।
२ . चिल्लो र चिनी (Total fat, Saturated fat, Trans fat and Sugars) - मुटुको स्वास्थ्यको लागि र साथै शरिरिक वजन कायम राखिराख्नको लागि यी पोषणहरु कम मात्रामा साथै यी पोषणयुक्त खाना कम सेवन गर्नुहोस्।
३. सोडियम (Sodium) - यो पनि सक्दो कम नै भएमा स्वास्थ्यको लागि लाभदायक हुन्छ। दैनिक रुपमा २००० मिलिग्राम (mg) भन्दा कम नै सेवन गर्नु राम्रो हुन्छ।
४ . प्रोटिन र कार्बोहाइड्रेट (Protein and Carbohydrates) - सन्तुलित आहारको लागि उपयुक्त मात्रामा यी पोषणहरु हामीलाई चाहिन्छ।
५. अन्य पोषणहरु (Other nutrients) – क्याल्सियम, मिनरल र भिटामिन साथै रेसायुक्त पोषणहरु हाम्रो शरीरलाई अधिक मात्रामा चाहिन्छ भने कोलेस्ट्रोल जस्ताहरु भने एकदमै न्यून रुपमा सेवन गर्नुपर्छ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








